दैलेखः कोरोना संक्रमणको जोखिम बढेको दैलेखको महावु गाउँपालिकामा संक्रमितहरुलाई उपचारका लागि आइसोलेसन अस्पताल निर्माण गरिएको छ । निर्माण गरिएको अस्पताल ३० बेडको रहेको छ । ५२ लाख लागतमा निर्माण गरिएको उक्त अस्पताल प्रदेश सभा सदस्य अमरबहादुर थापाको निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत ४० लाख र गाउँपालिकाको १२ लाख लगानीमा सम्पन्न गरिएको हो ।
प्रदेश सभा सदस्य अमरबहादुर थापाले औपचारिक रुपमा अस्पतालको उद्घाटन गरेका हुन् । अस्पताल निर्माण भएपछि उपचारका लागि जनताहरुलाई निकै सहज हुने भएको थापाले बताएका छन् । संक्रमण अँझै फैलिन सक्ने खतरा बढीरहेका कारण सामाजिक दुरी कायम गर्न, सावुन पानीले हात धुन, मास्क अनिवार्य प्रयोग गर्नुपर्ने थापाले सुझाव दिएका छन् ।
महावु गाउँपालिकामा मात्र १ सय ८६ जना संक्रमित देखिएका मध्ये १ सय ८४ जना निको भएर घर गएका छन् भने २ जना उपचारमा रहेका छन् ।
महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जनताको स्वास्थ्य सुरक्षित राख्नु पालिकाको पहिलो कर्तब्य भएकोले सुरक्षित उपचारका लागि अस्पताल निर्माण गरिएको बताएका छन् । पालिकाले जनताको सुरक्षाका लागि रातादिन खटेको छ । पूर्वाधार लगायतका बिभिन्न समस्या हुँदाहुँदै पनि स्थानीय सरकारले क्वारेन्टिन निर्माण देखि छिमेकी मुलुकबाट आएका पालिकाका जनताहरुलाई सुरक्षित राख्न हरसंभव प्रयास गरेको बताएका छन् ।











